प्रहरीलाई कुटपिट गरी भक्तपुर बाल सुधार गृहबाट भागे १५० बालबालिका


काठमाडौं – भक्तपुर बाल सुधार गृहबाट करिब १५० बालबालिका भागेका छन्। सोमबार दिउँसो २ बजे ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेर मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट उनीहरू भागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सीडीओ खगेन्द्रप्रसाद रिजालले बताए।

पछाडिको ढोका फोडेर ड्युटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरी उनीहरू भागेको जानकारी रिजालले दिए । २० जना प्रहरी पनि घाइते भएको उनले बताए। विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई त्यहाँ राखिएको थियो।

बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको थियो । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको थियो।

बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

उक्त सुधार गृहमा २५६ जना बालबालिका रहेका थिए।

प्रतिक्रिया