सुन तस्करी प्रकरण- महराका बाबुछोरामाथि छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा मा‌ओवादीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्।

मंगलबार काठमाडौंमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले ब्रेक शुमा लुकाएर ल्याइएको सुन बरामत प्रकरणमा उपाध्यक्ष महराको बाबुछोरोको नाम जोडिएर आएको र आजभोलि नै उनीहरुमाथी छानबिन अघि बढ्ने बताएका हुन्।

उनले भने, ‘उपाध्यक्ष महरा र छोरालाई छानबिन गर्न निर्देशन दिइसकेको छु। आजभोलिमै छानबिन अघि बढ्छ।’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा सुनकाण्डमा महरा बाबुछोराकै नाम आएकाले सोही अनुसार अनुसन्धान हुने उनले बताए।

राष्ट्रिय अनुसन्धान विभागको टोलीले साउन २ गते सिनामंगलबाट बरामत गरिएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नगरीकसँग पटक पटक फोन कन्ट्याक्ट भएको भन्दै महरा बाबुछोराको संलग्नता रहेकाे भन्दै नाम सञ्चार माध्यममा बाहिरिएको छ । यद्यपी कृष्ण बहादुर महराले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र छानविनमा सरकारलाई सघाउने बताउँदै आएका छन् ।

प्रतिक्रिया