काँडाघारीमा पर्खाल भत्किँदा एक युवती घाइते


काठमाडौं — अविरल वर्षापछि पर्खाल भत्किँदा एक जना युवती घाइते भएकी छिन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर १७ वर्षीया शर्मिला तामाङ घाइते भएकी हुन् ।

स्थानीय नीरज पोखरेलको घरको कम्पाउण्ड पर्खाल भत्किँदासँगै टहरोमा सुतेकी तामाङ घाइते भएकी हुन् ।

उनलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जनाए । घर कम्पाउन्डको पर्खाल भत्किँदा सो स्थानमा जग्गा भाडामा लिएर ओखलढुङ्गाका राज कुमार बुढाथोकीले बनाएको टहरो भत्किएको हो । शर्मिला टहरोमा सुतिरहेकी थिइन् ।

उदयपुर घर भएकी १७ वर्षीय शर्मिला तामाङको टाउकोमा चोट लागेको छ । उनी राज कुमार बुढाथोकीको भान्जी हुन् ।

प्रतिक्रिया