


राप्रपाले कार्यालय खाली गर्न माग्यो ३५ दिन समय

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरू आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।
बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो। तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज उक्त कार्यालय भत्काउने तयारी गरेको थियो ।
महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो ।
आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगर प्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगर प्रहरीहरू बालेनको आदेश पर्खेर बसिरहेका छन् ।

