मिटू : रमानीलाई मानहानी मुद्दामा सफाइ


भारत – भारतका पूर्व मन्त्री एमजे अकबरले पत्रकार प्रिया रमानीविरुद्ध दायर गरेको फौजदारी मानहानिको मुद्दामा बुधवार दिल्ली अदालतले रमानीलाई सफाइ दिएको छ ।

यौन उत्पीडनका विरुद्ध बोल्ने महिलाहरूका लागि यो ठूलो जीत भएको रमानीले प्रतिक्रिया दिइन् । रमानीले मी टू अभियानअन्तर्गत खुलासा गर्दै अकबरले आफूलाई यौन दुर्व्यवहार गरेको बताएकी थिइन् ।

त्यसपछि अकबरले आफ्नो सुप्रसिद्ध मानसम्मानलाई अघात पुगेको भनी मुद्दा दायर गरेका थिए ।

अदालतमा विस्तृत बहसपछि आज फैसला आएको हो । रमानीले आरोप लगाउँदा अकबर केन्द्र सरकारका मन्त्री थिए । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए ।

सन् २०१७ मा रमानीले भोग पत्रिकामा एक लेख लेखेर जागिरका लागि अन्तर्वार्ता दिन जाँदा हाकिमले यौन दुर्व्यवहार गरेको जानकारी दिएकी थिइन् । त्यसको एक वर्षपछि उनले त्यो हाकिम एमजे अकबर भएको खुलासा गरेकी थिइन् ।
अकबरविरुद्ध अर्की पत्रकार गजाला वहाबले पनि यौन दुर्व्यवहारको आरोप लगाएर अदालतमा बयान दिएकी थिइन् ।

प्रतिक्रिया