

उपचारमा लापरबाही गरेको भन्दै ३० लाख क्षतिपूर्ति दिन कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश

काठमाडौं– कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो।
श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका ८ महिनाका बाल आलोक बराललाई गलत खोप दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश गरिएको छ।
पीडित बालक बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै उजुरी गरेका थिए। २०७३ साल असार २२ गते ती बालक उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा पुर्याइएका थिए।
त्यही राति शम्भु विक नामका अर्कै बालकका लागि तयार उक्त खोप आलोकलाई लगाइएको थियो। त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनु, दिसा, पिसाब चुहिनु जस्ता लक्षणहरु देखिएको थिए। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट डा आयुष्मा रेग्मीले तयार गरेको प्रतिवेदनअनुसार ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपको साइड इफेक्टबाट देखिने प्रमाणित हुने अदालतको ठहर छ।
भनिएको छ, ‘सो लक्षणहरु इन्जेक्सन मोन्टाजको साइड इफेक्टको लक्षणसँग मिलेको पाइयो। यसरी अस्पतालको लापरवाहीका कारण गलत औषधीको अधिक मात्रा प्रयोग गरी ८ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिक लगायतका असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो।’
अस्पतालको लापरबाहीबाट बच्चाको स्वास्थ्यमा असर पुगेको बताउँदै जिल्ला क्षतिपूर्ति समिति काठमाडौंले १५ लाख रुपैयाँ अस्पतालले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो। त्यसपछि जिल्ला, उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको हो।

