

एमालेको विरोधकै बीच लुम्बिनीमा सकियो बजेटमाथिको छलफल

काठमाडौं – लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच बजेट छलफल सकिएको छ।
आगामी आर्थिक वर्ष ०८०-०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न आह्वान गरिएको प्रदेशसभा बैठक एमालेको अवरोधले अघि बढ्न सकेको थिएन। सोमबारको बैठकमा पनि प्रतिपक्षले बजेटमाथि असन्तुष्टि जनाउँदै विरोध जारी राखेको थियो। बैठक सुरु भएलगत्तै एमालेका प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले सरकारले आफूहरुले राखेको माग नसुनेको भन्दै विरोध जनाए। एमालेको अवरोधपछि एक घण्टा स्थगित गरेर पुनः सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गरिरहे पनि सभामुख तुलाराम घर्ती मगरले बैठक अघि बढाएका थिए।
बैठकमा नाराबाजीकै बीच सत्ता पक्षका सांसदहरुले बजेटमाथि आफ्ना धारणा राखे। नेपाली कांग्रेसका बसिउद्दिन खाँले प्रदेशको हालसम्मकै राम्रो बजेट आएको बताए। उनले नमुना प्रदेश बनाउन सक्ने खालको बजेट सरकारले ल्याएको दाबी गरे।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले बजेटमा क्रमागत योजनाहरु कटौती गरिएको भन्दै त्यसलाई बजेटमा सच्याउन सुझाव दिइन्। स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि राजनीतिक मुद्दमा भन्दा जनताका समस्यामा केन्द्रित हुन आग्रह गरे।
एमालेले प्रदेश सरकारले बजेटमा विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्ने भनेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। एमालेले सरकारले ल्याएको ०७५-०७६ का यताका बजेटमा रहेका क्रमागत योजनाहरुमा यसपालि बजेट कतौती गरेको र प्रदेशका निर्देशनालय खारेज गर्न खोजेको भन्दै विरोध गरेको हो।

