

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्नौं : राजेन्द्र राई

विराटनगर – कोशी प्रदेशका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सरकार चलाउने ढंग नभएकाले विश्वासको मत नदिने निष्कर्षमा पुगेको बताएका छन्।
बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतका लागि मु्ख्यमन्त्री कार्कीले पेश गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री समेत रहेका राईले सरकार चलाउने योग्यता मुख्यमन्त्री कार्कीमा नहुँदा विश्वासको मत नदिने बताए।
‘सरकार चलाउने ढंग यो सरकारलाई छैन,’उनले भने,’यसकारण पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौं।’ उनले कामको भुक्तानी नपाएर उपभोक्ता समिति र ठेकेदारहरू समस्यामा परेको बताए। ‘आज १० लाखको, ५ लाखको कामको भुक्तानी नपाएर उपभोक्ता समिति, ठूलाठूला ठेकेदारहरू रोएर बसेका छन्।
उधारो तिर्न नसकेर आज ठेकेदारहरूले होटलमा खान नपाउने अवस्था आएको छ। पैसा छ उता संचित कोषमा । पैसा प्रक्रिया पुर्याएर कसरी खर्च गर्न जान्दैन। कर्मचारीले बताइदिँदैनन्,’उनले भने।
तत्कालिन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।

