

गैरसरकारी संस्थालाई विद्युत प्रसारण लाइन बनाउन दिनुहुँदैन : कुलमान घिसिङ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रबन्ध निर्देशक घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको बताए।खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए।
उनले भूमिगत गर्ने काम निकै अफ्ठ्यारो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक रहेको र तार भूमिगत गर्ने काम गरुन्जेल दुई, चार महिना अफ्ठ्यारो व्यहोर्नुपर्ने बताए।
घिसिङले एनजिओ आइएनजिओहरूलाई विद्युत् प्रसारण लाइन बनाउन दिन नहुने बताए। त्यस्तै, एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानुनी व्यवस्था गर्न सांसदहरूलाई ध्यानाकर्षण गराए।
उनले देशभरिको विद्युतका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए।

