

कोशी प्रदेश प्रमुख खापुङद्वारा बजेटसम्बन्धी दुई अध्यादेश जारी

मोरङ – कोशी प्रदेश सरकारले आज (बिहीबार) अध्यादेशमार्फत बजेट जारी गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश-२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश- २०८० जारी गरेका छन् ।
अल्पमतमा परेको नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि आजै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो ।अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका थिए ।
प्रदेशसभामा आउँदो वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रस्तुत गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर करिब ३५ अर्बको अनुमानित बजेट प्रदेश सरकारले ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।
जनता समाजवादी पार्टी र माओवादी केन्द्रले पदेश सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज अध्यादेशमार्फत बजेट जारी गरेको हो ।

