आकस्मिक रुपमा विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री


जनकपुरधाम – मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका छन् ।

त्यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ । पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।

समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो । यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ । तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको थिएन ।

३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया