कोशी प्रदेश : अध्यादेशमार्फत बजेट ल्याए स्वीकार्य नहुने प्रतिपक्षी दलको निर्णय


विराटनगर – कोशी प्रदेश सभाका प्रतिपक्षी दलहरुले अध्यादेशबाट बजेट ल्याए अस्विकार गर्ने निर्णय गरेको छ । सरकारले संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै प्रतिपक्षी चार दललेअस्विकार गर्ने बताएको हो ।

अल्पमतमा परेको नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको आशंका गर्दै आपत्ति जनाएका हुन् ।

अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने भन्दै त्यस्तो बजेट अस्वीकार गर्ने विज्ञप्तिमार्फत जनाएका छन् । संविधानको धारा २०७ ले पनि प्रत्येक आर्थिक वर्षमा प्रदेशसभामै बजेट पेश गर्नुपर्ने व्यवस्था गरेको रहेको र संवैधानिक प्रावधानलाई हेक्का राख्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया