आज जनयुद्ध दिवसका दिन बुटवलमा ओली समूहले आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ ।
नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा २ लाख जनता उतार्ने दावी सहित सभा आयोजना गरेको हो ।
मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभामा पर्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभा आयोजना गरिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
माओवादीले जनयुद्ध सुरु गरेकै दिनको अवसर पारेर ओली समूहले आमसभा राख्नुलाई पूर्वमाओवादी लडाकु अर्थात् पूर्वजनमुक्ति सेनालाई आफ्ना पक्षमा तान्ने रणनीतिका रूपमा हेरिएको छ।
सभाअघि बिहान बुटवलमा पूर्वजनमुक्ति सेनाको भेला गरिने र स्थायी समिति सदस्य लेखराज भट्ट र मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।