सभामुखमाथि ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोप
काठमाडौं – सभामुख अग्नि सापकोटामाथि ३८४ बिघा सरकारी जग्गा व्यक्तीकाे नाममा गराएकाे आरोप लगाएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाणसहित सरकारमार्फत छानबिन गराएका अधिवक्ता युवराज कोइरालाले त्यस्तै प्रकरणमा सभामुखमाथि मुद्दा चलाउन अख्तियारले खुट्टा कमाएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले देशभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिन आयोजित हस्ताक्षर कार्यक्रममा अधिवक्ताले यस्ताे बताएका थिए । उनले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको दावी गरेका हुन् ।
कोइरालाले भने, ‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर, मन्त्री सापकोटाले व्यक्तिको नाममा गर्नू भनेर तोक लगाए । आज ती व्यक्तिले दुईतिरको जग्गा भोगचलन गरिरहेका छन् । उच्चस्तरीय समितिले सो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरेपनि अख्तियारले खुट्टा कमाइरहेको छ ।’
कार्यक्रममा कोइरालाले मन्त्रिपरिषदले निर्णय गरेरै उच्चस्तरीय समितिको सिफारिस अनुसार मुद्दा चलाउन पठाए पनि अख्तियारले फाइल नखोलेको आरोप लगाए ।
समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्नेउपर कारबाहीको माग गरेको छ ।
त्यस्तै धोबीखोला बगेको साबिक नगर २५ (क) कित्ता नम्बर ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीउपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न माग गरेको छ ।
मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारबाहीको लागि दबाब दिन अभियान चलाइएको संघर्ष समितिका महासचिव समेत रहेका कोइरालाले बताए ।