भारतको उडिशामा रेल दुर्घटना, २३३ को मृत्यु, ९ सय बढी घाइते


काठमाडौं – भारतको उडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाकाे मृत्यु भएको छ भने ९ सय भन्दा बढी घाइते भएका छन् ।

भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।

दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएको एनडीटीभीले जनाएको छ । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

 

प्रतिक्रिया