

माओवादी र जसपालाई कोशीमा सरकारबाट बाहिरिन कांग्रेसको आग्रह

विराटनगर – नेपाली कांग्रेस कोशी संसदीय दलले एमाले नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको छ ।
दलको आज (बिहीबार) विराटनगरमा बसेको बैठकले औपचारिक निर्णय गरी एमाले नेतृत्वको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संघीय सरकारमा गठबन्धनमा रहेपनि कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकारलाई समर्थन रहिरहेकोले फिर्ता हुन लिखित आग्रह गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
‘केन्द्रमा गठबन्धनको सरकारमा रहे पनि कोशी प्रदेशमा एमालेलाई दिएको समर्थन कायम रहेकाले लिखित रूपमै फिर्ता हुन आग्रह गर्ने निर्णय गरेका छौँ’, उनले सुनाए । कांग्रेसले प्रदेशसभाबाट सभाका सदस्यहरूलाई वितरण गर्ने तयारी गरिएको ल्यापटप नलिने निर्णय समेत गरेको छ। कांग्रेसले प्रदेशसभा सचिवालयले एक करोड २० लाख रुपैयाँमा खरिद गर्न ठिक्क पारेको बजेट गाईवस्तुमा हाल देखिएको ‘लम्पी स्किन’ रोगको उपचारमा खर्च गर्न सरकारलाई आग्रह गरिएको छ ।
थापाले भने, ‘ल्यापटप खरिद गर्न छुट्याएको बजेट हामी लम्पी स्किन रोगबाट पीडित भएका वस्तुको उपचारमा खर्च गर्ने गरी किसानलाई उपलब्ध गराउन आग्रह गर्दछौँ ।’ बैठकले कोशी प्रदेश नामाकरणपछि प्रदेशमा उठेको पहिचानवादीको आन्दोलनको पनि समीक्षा गरेको छ ।
कोशी नाम चित्त नबुझेको अवस्थामा आन्दोलन गर्न पाउने अधिकार सबैको भएको भन्दै सरकारलाई यस्तो आन्दोलनका क्रममा संयमता अपनाउन र बढी बल प्रयोग नगर्न कांग्रेसले आग्रह गरेको छ । बाहिर चर्चा भए जसरी कांग्रेस अहिल्यै सर्वदलीय सरकार गठनको पक्षमा नरहेको र प्रक्रियागत ढंगले सरकार ढाल्न र बनाउन तयार रहेको भन्दै थापाले सरकार लामो समय जाने अवस्था नभए मध्यावधि निर्वाचन पनि विकल्प भएको सुनाए ।

