अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्स दुई दिने भ्रमणका लागि नेपालमा


काठमाडौं – अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन्। भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरको बारेमा चर्चा हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।

सहायकमन्त्री वाट्सले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। सो अवसरमा उनले अष्ट्रेलियासँगको सहकार्य, ६३ वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धलगायत विषयबारेमा चर्चा गर्नेछन्। अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसङ्ख्या भएको छ। हालः करिब एक लाख ३० हजार नेपाली अष्ट्रेलियामा बसोबास गर्छन्।

भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रूपमा १३औँ शताब्दीको पाटनको सुलीम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन सङ्ग्रहालयमा आयोजना हुने कार्यक्रममा सहायकमन्त्री वाट्स सहभागी हुनेछन्। आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महत्त्वपूर्ण कलाकृति नेपाललाई फिर्ता गरेको हो। उक्त सङ्ग्रहालयका निर्देशक डा. माइकल ब्राण्डले उक्त टुँडाल हस्तान्तरण गर्नेछन्।

प्रतिक्रिया