


पाकिस्तानमा इमरान खानको पार्टीका थप ५४० जना नेता-कार्यकर्ता पक्राउ

काठमाडाैं – पाकिस्तानमा हिंसा भड्काएको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का सदस्य रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार मे ९ देखि पञ्जाब प्रहरीले पार्टीका पदाधिकारी र सदस्य विरुद्ध प्रान्तभर २०५ वटा मुद्दा दायर गरेको छ । बिहीवार राति प्रहरी अधिकारी र पीटीआईका कर्मचारीबीच केहीबेर झडप भएको थियो ।
प्रहरीले जेल रोडमा रहेको पीटीआईको कार्यालयमा संदिग्ध ठानिएका पार्टीका सदस्यलाई पक्राउ गर्न स्टेशनमा सूचना जारी गरिएको थियो । पार्टीका सदस्यले प्रहरीलाई ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको छ ।
अदालतबाट छोडिएपछि पीटीआई अध्यक्ष इमरान खानलाई स्वागत गर्न पार्टी समर्थक कार्यकर्ताहरू ठूलो सङ्ख्यामा भेला भएको खबर आएपछि शुक्रवार साँझ उनको जमान पार्क हवेली वरिपरि प्रहरीको उपस्थिति बढाइएको थियो ।

