‘लम्पी स्किन’बाट १२७ पशु मरे, १६ सय संक्रमित


हुम्ला – हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो हप्तायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण देखापरेको छ । शुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।

लम्पी स्किनको संक्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए । अहिलेसम्म यो रोगबाट जिल्लाका ५ वटा गाउँपालिकामा १२७ पशुवस्तु मरेका छन् ।

सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ गाईगोरु मरेका छन् भने सिमकोटमा ४१, नाम्खा १०, अदानचुली १३ गाईगोरु मरेको निमित्त कार्यालय प्रमुख रोकायाले बताए । हाल लम्पी स्किन रोग जिल्लाभर महामारीका रूपमा फैलिएको उनले बताए ।

हुम्ला जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म १ हजार ६३९ वटा गाईगोरु संक्रमित भएका छन् । सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकाका किसानले पालेका ९२० गाईगोरुमा संक्रमण देखिएको छ । संक्रमित पशुको शरीरका भागमा घाउ भएर पाक्ने, उच्च ज्वरो आउने लक्षण देखिएको रोकायाले बताए ।

संक्रमण देखिएका १ हजार ३७० गाईगोरुको पशु अस्पताल तथा पशु सेवा कार्यालयले उपचार गरेको छ । लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको छ । जिल्लाभर ४१ हजार ४ गाईगोरु, ३ हजार २३४ भैंसी, ४० हजार ४२ भेंडा, १ लाख ३८ हजार ९३ बाख्रा, चौंरी ७ हजार २४६ र १ हजार ८२० कुखुरा प्रभावित छन् ।

प्रतिक्रिया