

परराष्ट्रमन्त्री साउदद्वारा बेलायतका राजा चार्ल्स र प्रधानमन्त्री सुनकसँग भेट
सुनकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन् । राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भएपछि उनले दुवैसँग भेटवार्ता गरेका हुन् ।
भेटमा साउदले राज्यारोहण गरेकोमा राजा चार्ल्सलाई बधाई दिएका छन् । परराष्ट्रमन्त्रीले बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिए । उनका अनुसार जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताएका छन् ।
‘बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिँदा आउँछु, तर अलि ढिला हुन्छ भन्नुभयो’, परराष्ट्रमन्त्री साउदको भनाइ उद्धृत गर्दै जोशीले भने । मन्त्री साउद वैशाख २१ गते राजा चाल्र्सको राज्याभिषेकमा सहभागी हुन बेलायत गएका थिए । उनी वैशख २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

