

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन् ।
उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँदै आएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए ।
पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका महेशको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए ।
करेन्ट लागेर पुथा-१२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका-४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् । उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अर्जनु र मोनिका पनि तुलसीपुर– ६ मै डेरा गरी बस्दै आएका थिए ।

