होटल व्यवसायी गङ्गाकाे हत्यामा संलग्न अभियुक्त सार्वजनिक


बलेवा – जिल्लाको बडिगाड गाउँपालिका–३ की होटल व्यवसायी गङ्गा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका-७ असारे माझखर्क घर भई गलकोट नगरपालिका-१ दुदिलाभाटी बस्ने थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका-७ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० ढुङ्गाअड्डा बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ भर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ हुर्का बेइजिङ बस्ने शिवबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका-७ न्वारमा गङ्गादेवी शेरचनको हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको तथ्यको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

५७ वर्षीय शेरचन माघ १५ गते आइतबार बिहान आफ्नै होटलको भुइँमा हात-खुट्टा र मुख सेलो टेपले बाँधिएको अवस्थामा फेला परेका थिए । बागलुङको बडिगाड-३ सिसाखानीकी गङ्गादेवी मुसिकोट नगरपालिका-७ न्वारमा ३० वर्षदेखि होटल सञ्चालन गर्दै आएकी थिइन् ।

भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धानअघि बढाइएको उक्त घटनामा गुल्मी प्रहरीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिसकेको थियो ।

उनै घर्तीको बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । सुरुमा गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाट र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले अनुसन्धान गरेको थियो ।

त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्यामा संलग्न एक जना भने फरार छन् । उनको खोजीकार्यलाई तीव्रता दिइएकोे गुल्मी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया