विदेश जाने ४० नकटेका नेपाली युवतीलाई यस्तो नियम, परिवार र पतिसँग जाँदा अनिवार्य छैन!


काठमाडौं– भिजिट भिसामा विदेश जाने ४० बर्ष नकटेका नेपाली युवतीलाई अध्यागमन विभागले विभेदकारी नयाँ कार्यविधि संशोधन प्रस्ताव गृह मन्त्रालयलाई पठाएको छ।

अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्था संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाउँदै भनेको छ,‘४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको र पारिवारिक सहमति अनिवार्य हुनुपर्नेछ।’

विभागले मानव तस्करी, शोषणमा परेलगायतका गुनासा धेरै आएपछि यस्तो प्रस्ताव गरेको हो। यो प्रस्ताव गृह मन्त्रालयको कानुन शाखाले चाँडै कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन लागेको हो।

कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने गरेकाले त्यसलाई कडाइ गर्न पारिवारिक सहमतिसहित नयाँ प्रस्ताव गरिएको हो। योसँगै विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य गर्नुपर्ने प्रस्ताव छ।

हालको कार्यविधिको दुरुपयोग भएको र महिलाहरू थप शोषणमा नपरून् भनेर कार्यविधि संशोधनको प्रस्ताव गरिएको बताइन्छ। ४० वर्षमुनिका महिला परिवारका सदस्य वा पतिसँग भ्रमणमा जाँदा भने स्थानीय सरकारको सिफारिस र बिमा अनिवार्य गरिएको छैन।

प्रतिक्रिया