

राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनौट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ तथा शुभकामना दिएका छन्।
त्रिवि मैदानमा मंगलबार भएको अन्तिम खेलमा यूएईलाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको थियो। बधाइ सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विजयी हासिल गर्दै एसिया कपमा छनौट भएकोमा खेलाडीहरू र प्रशिक्षकहरूलाई बधाइ दिएका हुन्।
राष्ट्रपतिले भनेका छन्- ‘खेलको क्रममा नेपाली खेलाडीहरूले देखाउनु भएको दक्षता,धैर्यता,लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु। भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूको नेपाल र नेपालीको नाम राख्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आगामी प्रतियोगिताहरुको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु।’
सोमबार सुरु भएर वर्षाका कारण मंगलबार मात्रै टुङ्गिएको फाइनलमा एसोसिएट क्रिकेटको पावर हाउस यूएईलाई हराएसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ। समूह ‘ए’मा परेको नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टिम सुपर फोरमा पुग्ने छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

