कोशी प्रदेशको पुनः नामकरण सम्भव छैन : मुख्यमन्त्री कार्की


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामकरण असम्भव रहेकोे बताएका छन्।

आज मोरङको उर्लाबारी-३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उनले भने, ‘नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो । अब पुनः प्रदेशको नामाकरण सम्भव छैन ।’

विगतको पाँच वर्ष प्रदेशको नामकरण हुन नसक्दा जनस्तरबाटै प्रदेश सरकार आलोचित भएको स्मरण गर्दै कार्कीले थप भपे, ‘प्रदेश सरकार निर्माण गर्न समर्थन गरेका सबै राजनैतिक दलको समर्थनमा नामाकरण टुङ्गोमा पु¥याइएको हो । पछिल्लो समय केही व्यक्ति र केही संस्थाले एमालेलाई लक्षित गरी आक्रमण गर्ने प्रवृति बढ्दै गएको छ । हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट छैन यसप्रति कोशी प्रदेश सरकार सचेत छ।’

मन्त्री कार्कीले ‘कोशी प्रदेश’ निश्चित सम्प्रदाय, धर्म, पहिचान र जातिभाषाको रुपमा नभएर नेपालकै सबैभन्दा ठूलो प्राकृतिक सम्पदा कोशी नदीको नाम भएको स्पष्ट पारे ।

मन्त्री कार्की कार्यक्रममा सहभागी हुने खबर आन्दोलनरत पहिचानवादीले उनीविरुद्ध नाराबाजी गरेका थिए । आन्दोलनरत पक्षधरले कार्कीको विरोध गर्दै पूर्वपश्चिम राजमार्गको मङ्गलबारेमा केही बेर सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरुले सडकमा प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो भएर विराटनगर फर्किएका थिए ।

प्रतिक्रिया