पदभार ग्रहणको एक घन्टामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा


काठमाडौं – सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव हाजिर भएको एक घन्टामै सरुवामा परेका छन् ।

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएकोमा आइतबार बिहान ११ बजे पदभार ग्रहण र हाजिर गरेका थिए । तर, एक घन्टामै दिउँसो १२ बजे सामान्य प्रशासन मन्त्रालयले यादवलाई मुख्यमन्त्री कार्यालयमै यथावत् राख्न पत्र पठाएपछि उनी फर्किएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको स्वागत गर्न नपाउँदै सरुवा हुँदा अचम्म लागेको मेयर विनोदकुमार साहले बताए । ‘नगरपालिकामा एक महिनादेखि प्रशासकीय छैनन्, बल्ल पठाएको थियो, तर फेरि सरुवा गरिदियो,’ उनले भने । हरिपुर्वामा यसअघि पनि प्रशासकीय अधिकृतको एक सातामै सरुवा भएको थियो ।

नगरपालिकामा एक महिनादेखि तालाबन्दी

हरिपुर्वामा एक महिनादेखि तालाबन्दी छ । नौबुँदे माग अघि सारेर सर्वदलीय संघर्ष समितिले गत चैतमा तालाबन्दी गरेको हो । एमाले, कांग्रेस, माओवादी, जसपा, लोसपा तथा जनमत पार्टीसमेतले संघर्ष समिति बनाएर आन्दोलन गर्दै १५ चैतबाट कार्यालयमा तालाबन्दी गरेको नगरपालिकाका मेयर साहले बताए । संघर्ष समितिले ५ चैतदेखि नै कार्यालय घेराउ, नाराबाजी, लाठी प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम गरेका थिए । महिनाभन्दा बढी समयदेखि नगरपालिकामा लागेको ताला अझै खुलेको छैन । कार्यालयमा लागेको तालाबन्दीका कारण नगरको दैनिक कामकाजदेखि विकासका योजनासमेत अलपत्र बनेको छ ।

प्रतिक्रिया