पोखरा १८ मा पुनः मतगणना गर्न सर्वोच्चको आदेश


काठमाडाैं – सर्वोच्च अदालतले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले वडाध्यक्ष पदको मतगणनासम्बन्धी उच्च अदालत पोखराको यसअघिको आदेशलाई सदर गरेको हो।

उक्त वडाको अध्यक्षमा एमालेका उम्मेदवार पुस्कलबहादुर थापा पराजित भएका थिए भने कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए । तर, थापाले पुनः मतगणनाको माग राखेर गत जेठ १८ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

जसमा सुनुवाइ गर्दै उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गतेका दिन पुनः गणना गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध तिमिल्सिनाले सर्वोच्चमा रिट दायर हाले। जसको सुनुवाईपछि आज यसअघिकै आदेशलाई निरन्तरता दिँदै अन्तरकालीन अन्तरिम आदेश जारी भएको हो ।

प्रतिक्रिया