

भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमणमा १० प्रहरी मारिए

नयाँदिल्ली – भारतको छत्तीसगढ राज्यस्थित दन्तेवाडा जिल्लामा बुधबार नक्सलवादीको आक्रमणमा परेर १० जना प्रहरी मारिएका छन् । नक्सलवादीको हमलामा डीआरजी (जिला रिजर्भ गार्ड) का १० जना जवान मारिएका हुन् ।
यो घटनामा एक जना ड्राइभर पनि परेका छन् । जिल्लाको अरनपुर थाना क्षेत्रमा नक्सलवादीले प्रहरीको गाडीलाई एम्बुसमा पारेका थिए । सुरक्षाकर्मीको यो गाडी बर्षातका कारण फसेका अन्य सुरक्षाकर्मीको उद्धारमा जाँदै थिए ।
यसक्रममा नक्सलवादीले हानेको घरेलु विस्फोटक पदार्थ ठूलो आवाजसहित पड्किएको थियो । विस्फोटमा पुलिस सवार गाडी हावामा उडेको थियो । यो हमला दन्तेवाडा जिल्लाको अरनपुर थाना क्षेत्रमा अरनपुर-समेलीबीचको सडकमा भएको हो । यहाँ पुलिस र नक्सलवादीबीच मुठभेट पनि भएको छ ।
यही क्रममा नक्सलवादीहरुले पुलिसको गाडीमा बम फ्याकेका थिए । ५० किलोको घरेलु बम विस्फोटपछि गाडी क्षतविक्षत भएको छ । त्यसमा सवार प्रहरी जवानहरुको शव पनि टुक्रा टुक्रा भएको अवस्थमा पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोट भएको ठाउँमा १२ फिट गहिरो खाडल परेको छ । एजेन्सी

