मोरङको बेलबारीमा गरियो ‘लाजेहाङ’को अन्त्येष्टि


विराटनगर – पहिचान पक्षधरले विराटनगरमा गरेको आन्दोलनका क्रममा घाइते भइ मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’को शनिबार साँझ अन्त्येष्टि गरिएको छ। उनको मृत्यु भएको १ महिनापछि पहिचानवादीहरूले शव बुझेर अन्त्येष्टि गरेका हुन्।

मोरङको बेलबारी नगरपालिका-२ लालभित्तीका ४२ वर्षीय ‘लाजेहाङ’ गत चैत ५ गते घाइते भएका थिए। उपचारका क्रममा चैत १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भयो। आन्दोलनकारीकै लाट्ठी प्रहारबाट उनको मृत्यु भएको बताइएको छ।

तर, आन्दोलनरत पक्षले शव बुझ्न अस्वीकार गर्दै आएको थियो। सहमतिपछि १ महिनासम्म अस्पतालमा रहेको शव बुझेर विभिन्न ठाउँमा श्रद्धाञ्जलीसभा गर्दै अन्त्येष्टि गरिएको हो। पहिचानवादी नेता अर्जुन जम्नेली राईले बेलबारीमा रहेको बेतना सिमसार क्षेत्र नजिकको याक्थुम चुम्लुङको सांस्कृतिक क्षेत्रको वनमा लिम्बू संस्कार अनुसार ‘लाजेहाङ’को अन्त्येष्टि गरिएको जानकारी दिए।

उनका अनुसार धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्नुअघि ५ ठाउँमा श्रद्धाञ्जलीसभा गरियो। धरान, तरहरा, इटहरी, विराटनगर र बेलबारीमा शवयात्रासहित श्रद्धाञ्जलीसभा गरिएको जानकारी राईले दिए।

प्रतिक्रिया