पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउन योजनाबद्ध पहल गर्छौं : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुट अनुभव र सिकाइ विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउनका लागि योजनाबद्ध पहल गर्ने बताएका हुन् ।

अहिलको चुनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहँदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातिक तर्फ थ्रेसहोल्डका कारण ४५ प्रतिशत सिट प्राप्त गर्न सकिने उनले बताए ।

पोखरेलले एमालेका जनप्रतिनिधिहरूको भूमिका प्रभावकारी हुन नसक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधिहरूको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने जिकिर गरे ।

त्यस्तै उनले आधारभूत आवश्यकता पूरा भएका जमातलाई प्रमुख पार्टीविरुद्ध भड्काउने प्रवृत्तिका कारण वैकल्पिक भन्नेहरूले स्थान पाएको धारणा राखे ।​

पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उद्देश्यका साथ पार्टीलाई बलियो बनाउँदै अघि बढाउन मिसन ग्रासरुट प्रभावकारी हुने जिकिर गरे ।

प्रतिक्रिया