उपनिर्वाचनका लागि आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना


काठमाडाैं – वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ।

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

संयन्त्रमा चारवटै सुरक्षा निकायका प्रथम श्रेणी वा सो सरहका अधिकृतहरू पनि छन्। संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका बरिष्ट उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेको जनाइएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने/गराउने व्यवस्था प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो।

तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया