महोत्तरी दुर्घटना : विवाह भएको दुई महिनामै श्रीमान श्रीमतीको मृत्यु


महोत्तरी – सवारी दुर्घटनामा परी महोत्तरीमा नवविवाहिता दम्पतीको मृत्यु भएको छ। बुधबार दिउँसो महोत्तरीको गौशालास्थित जंगलमा भएको सवारी दुर्घटनामा परी श्रीमान, श्रीमती र एक बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन्। अमृत र अन्जु श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ। उनीहरूको गत फागुनमा विवाह भएको थियो। विवाह भएको दुई महिनामै उनीहरूको मृत्यु भएको हो।

आज दिउँसो अमृतले (ससुराली)बाट श्रीमतीलाई लिएर घरतर्फ गइरहेको थियो। सोही क्रममा जंगलमा रहेको रेल्वे टयाक नजिकको मोडमा मोटरसाइकल बससँग ठोक्किदा तीनै जना गम्भीर रूपमा घाइते भएका थिए।

अमृत र अंशुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। त्यस्तै अन्जुको वर्दिवास ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको महोत्तरी प्रहरीले गौशालाबाट बर्दिबासतर्फ गईरहेको मधेस प्रदेश ०१ ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल गौशालातर्फ आइरहेका बा३ख २३९६ नम्बर बसमा ठोकिएको थियो।

मोटरसाइकल तीब्र गतिमा भएको कारण अनियन्त्रित भई मोटरसाइकल बसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताएका छन्। तीन जनाको शव अहिले बर्दिवासको अस्पतालमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइहेको डीएसपी गिरीले जानकारी दिए।

प्रतिक्रिया