मेयर बालेनले उठाएका विषयमा छलफल गर्न आज बैठक बस्दै


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले उठाएका विषयहरूमा छलफल गर्न सरोकारवाला मन्त्रालयका मन्त्रीहरूसँग आज बैठक बस्ने भएको छ।

मेयर बालेनले उठाएका एजेन्डाका विषयहरूमा केन्द्रित रहेर सरोकार निकायका मन्त्रीहरूसँग बैठक बस्ने निर्णय गरिएको सहरी विकास मन्त्री सीता गुरूङले जानकारी दिइन्।

उनका अनुसार फोहोर व्यवस्थापन समितिको बैठक बस्नुअघि सरोकार निकायका मन्त्रीहरूसँग बैठक बसिने छ।

सहरी विकास मन्त्रालयको समन्वयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि उपस्थित हुने  जनाइएको छ । सामान्य प्रशासन मन्त्री मोदी एक कार्यक्रमका लागि अमेरिका गएका छन् ।

बैठकमा मेयर बालेनले उठाएका एजेन्डा र समसामयिक विषयबारे छलफल हुने मन्त्री गुरूङले जानकारी दिइन्।

यसअघि मेयर बालेनले फोहोर व्यवस्थापनका साथै अन्य विषयहरुमा संघीय सरकार उदासीन रहेको भन्दै सिंहदरबार, राष्ट्रपति निवासलगायतका महत्वपूर्ण स्थानमा फोहोर नउठाउने र सामाजिक सञ्जालमार्फत् विरोध गर्दै आएका छन् । उनको यस निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक समर्थन आएको छ ।

प्रतिक्रिया