

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

दाङ – ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका –११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।
दुर्घटनाका घाइतेमध्ये गोपालको घटनास्थलमै मृत्यु भएको र घाइते सन्देशलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताए।
थप अनुसन्धानका लागि ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

