गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने


गोरखा – गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि जेठ १ गतेसम्म महोत्सव हुने भएको हो ।

गोरखनाथ मन्दिरमा दिनहुँ रोट चढाउने प्रचलन रहे पनि गएको २० वर्षदेखि यसलाई महोत्सवकै रूपमा समेत अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरख गुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ ।

रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने उनले बताए । ‘एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरुगोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो’, उनले भने, ‘चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।’ साना-साना आकारमा तयार गरिने यो रोटलाई नाथ प्रजातिका व्यक्तिहरूले शुद्व भई मन्त्रजप गरी बीचको भाग उठाएर बनाइएको हुन्छ । तत्कालीन नेपाल एकीकरणको समयमा सेनालाई प्रसादका रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाइँ लड्न सकेको भन्ने भनाइ शिलालेखमा पाइन्छ ।

रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायतका सवै सुविधा निःशुल्क उपलब्ध गर्ने व्यवस्था गरिएको अकेलाले जानकारी दिए । भक्तजनका लागि भजनकीर्तन गर्नसमेत विशेष ठाउँको व्यवस्था गरिएको छ भने रोट पकाउन लागि दाउरालगायतको समेत विशेष व्यस्थापन गरिएको उनले बताए । महोत्सव गर्न करिब २५ लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक अकेलाले जानकारी दिए ।

लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, भक्तजन, स्थानीय समाजसेवी तथा सङ्घसंस्थाबाट स्वेच्छिकरूपमा जुटाइन्छ । एघार दिनसम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रबन्ध आयोजकले व्यवस्थापन गर्ने जानकारी दिएको छ ।

वैशाख २२ गते बाजागाजासहित गोरखा सदरमुकामबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिनेछ । रोट महोत्सवमा हरेक दिन साधक साधिकाबाट धार्मिक प्रवचन तथा भजनकीर्तनसमेत हुने केन्द्रले जनाएको छ ।

महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्नका लागि भारतलगायतका देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । महोत्सवमा एक लाख श्रद्वालु भक्तजनले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

प्रतिक्रिया