ओमानविरुद्ध नेपालको शानदार जित


काठमाडौं – एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानविरुद्ध शानदार जित हात पारेको छ । नेपालले ओमानलाई ५ विकेटले हराएको हो ।

२ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए । ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।

यसअघि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो । ओमानका लागि शोएब खानले १ सय १० रन बनाए । ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए ।

नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २-२ विकेट लिए । एसीसी प्रिमियर कप मंगलबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया