कास्की – कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित तथा व्यवस्थित ढुवानीको लागि कास्कीको पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका, संघीय सरकार, कोरियन सरकार (कोइका) र युएनडिपीको साझेदारीमा ३६ लाख लगानीमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। एम्बुलेन्समा माइनस १५ डिग्री तापक्रमसम्म चिस्यान क्षमताको कुलर जडान गरिएको महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए। एम्बुलेन्स सेवाले कृषि उपजको सुरक्षित ढुवानी, ढुवानीका क्रममा हुने क्षति न्यूनीकरण र उपभोक्तालाई ताजा तरकारी खुवाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
कृषि एम्बुलेन्सको सेवा आरम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले उच्च मूल्यका कृषि उत्पादनहरूलाई कृषकहरूको बारी तथा घर आँगनमा बिग्रन नदिई बजारसम्म पुर्याउन सजिलो हुने बताए। ठूलो लगानीमा उच्च मूल्यका कृषि उत्पादनले बजार नपाई सस्तो मूल्यमा दिनुपर्ने वा खेर जाने अवस्था आउन नदिन एम्बुलेन्स महत्त्वपूर्ण हुने उनको भनाइ छ।
‘मुख्यरूपमा कृषकले उत्पादन गरेको कृषि उपज यो एम्बुलेन्सले सुरक्षित र व्यवस्थित रूपमा बजारमा लैजाने छ। यसले दिने अरु सेवा सुविधाका बारेमा कृषकले बिस्तारै थाहा पाउनु हुनेछ’, प्रमुख आचार्य भने, ‘यसले दिने प्रभावको बारेमा हेरेपछि राम्रो भयो भने झनै विस्तार गरौँला।’ चिस्यान सहितको सुविधा भएकाले यसले कृषि सेवाका अलावा आकस्मिक रूपमा अन्य सेवा समेत प्रदान गर्ने उनको भनाइ छ।
समय तालिका बनाएर एम्बुलेन्सले महानगरपालिकाका ३३ वटै वडामा सेवा प्रदान गर्ने गरी तयारी भइरहेको छ। यसले कृषिजन्य उत्पादनहरूको ढुवानीमा हुने अनियमितमालाई रोक्नुका साथै कृषकले आफ्ना उत्पादनको उचित मूल्य मूल्य प्राप्त हुने सक्ने महानगरपालिका र कृषक दुवै पक्ष विश्वस्त छन्।