टिचिङ अस्पतालमा पुनः कोभिड वार्ड सञ्चालन


काठमाडौं – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले पुनः कोभिड वार्ड सञ्चालनमा ल्याएको छ ।

अस्पताल भर्ना भएका बिरामीहरूमा कोभिड संक्रमण देखिन थालेपछि बिहीबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमले बताए ।

कोरोना संक्रमणका तीनवटा लहरमा सञ्चालन गरिएका वार्डहरू संक्रमितको संख्या घटेसँगै हटाइएको थियो । अहिले पुनः सात बेडसहित वार्ड सञ्चालनमा ल्याएको हो । बिहीबारसम्म अस्पतालमा आईसीयुमा तीनजनासहित सातजना कोरोना संक्रमित भर्ना भएर उपचररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ठूला अस्पतालहरूलाई तयारी अवस्थामा रहन पत्राचार गरेको थियो । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४३५ छ । तीमध्ये २७ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया