

ढाकाकुमारसँग बयान लिने रास्वपाको तयारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । रास्वपाको अनुशासन समितिले श्रेष्ठलाई पार्टी कार्यालय बसुन्धारा बोलाएर बयान लिन लागेको हो ।
स्वास्थ्य मन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले आज सांसद श्रेष्ठको बयान लिन लागिएको बताए ।
देवकोटाका अनुसार सोमबार साँझ पार्टीको ताकेता पछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

