प्रहरी नेतृत्वलाई लिएर ‘हानथाप’, रेसमा पाँच एआईजी !

नेपाल प्रहरीमा ३० वर्षे हटेन, आईजी सिंहको निराशाजनक अवकाश


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को अवकाश तीन कारणले हुने गर्छ – एक ३० वर्षे सेवाअवधि, दोस्रो चारवर्षे पदाअवधि र तेस्रो ५८ वर्षे सेवाअवधि । योमध्ये पहिला जुन आउँछ, त्यही व्यवस्थाअनुसार आईजीपी अनिवार्य अवकाशमा जान्छन् ।

हालका आईजीपी धिरज प्रताप सिंह माथिको तीन अवस्था कायम रहेमा ४ दिनपछि अनिवार्य अवकाशमा जाँदैछन् । आगामी ११ चैतमा उनी ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जानेछन् । उनी गत १८ वैशाखमा आईजीपी नियुक्त भएका थिए ।

यद्यपी, आईजीपी सिंहले अनिवार्य अवकाशको अन्तिम समयसम्म पनि ३० वर्षे सेवाअवधि हटाएर कार्यकाल लम्ब्याउन कुनै कसरत बाँकी राखेका थिएनन् । तर, अवकाशको ४ दिन मात्रै बाँकी रहँदा उनले आफ्नो कार्यकाल लम्ब्याउन नसकेपछि निराश भएर घर जान बाध्य छन् ।

तर, गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नरुचाएपछि सिंहको घर जाने मिति नजिकिएको हो । ‘२ दिन अघिसम्म ३० वर्षे हट्नेमा आशावादी भएपनि अब केही नहोला जस्तो छ,’ आईजी सिंहको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

२ दिन अघिसम्म आईजीपी सिंह ३० वर्षे सेवाअवधि हट्नेमा ढुक्क थिए । कारण थियो– विगतका आईजीपीको कार्यकालमा भन्दा अहिले आवश्यक प्रक्रिया धेरै अघि बढ्नु । हुन पनि योपटक ३० वर्षे सेवाअवधी हट्ने प्रक्रिया प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो ।

सिंहको अवकाश मिति नजिकिइसकेकाले संसद्बाट ३० वर्षे सेवाअवधि हटाउन अब सम्भव छैन । तर, प्रहरी नियमावली संशोधनको विकल्प भने बाँकी नै छ । यद्यपी, १० चैतसम्म केही भन्न सकिने अवस्था छैन् ।

आईजीपी सिंहसँगै हालका तीनैजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी पनि अवकाश हुनेछन् । उनीहरु पनि ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुनेछन् ।

त्यस्तै आईजीपी सिंहकै ब्याचीहरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु तीनजना र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दुईजना पनि अवकाशमा जाँदैछन् । अहिले ३० वर्षे हटाउनमा उनीहरुको पनि जोड थियो, तर सफल हुन सकेनन् ।

तीन दिनपछि नयाँ आईजीपी
सरकारले हिजो अर्थात सोमबार मात्रै पाँचजना डिआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । एआईजीमा बढुवा हुनेहरुमा बसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य रहेका छन् ।

यदि १० गतेभित्रमा ३० वर्षे नहटेमा एआईजीको फुली लगाएको तीन दिनमै उनीहरुमध्ये एक जनालाई नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने अवसर प्राप्त हुनेछ । सम्भवतः उनीहरुले आज फुली लगाउनेछन् ।

सरकारले ‘उपयुक्त लागेको’ व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । हालका आईजीपीको पदावधि चार दिन बाँकी रहँदा नयाँ आईजीपी नियुक्तिका लागि सरकारले आन्तरिक प्रक्रिया सुरु गरे पनि अन्तिम टुंगो लगाएको छैन ।

गृहमन्त्रालय स्रोतका अनुसार, सम्भावित उम्मेदवारको सूची तयार पारी उनीहरूको कार्य सम्पादन मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । प्रतिवेदन तयार भएपछि गृह मन्त्रालयलले मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषदको बैठकले प्रहरी महानिरीक्षक नियुक्तको निर्णय गर्छ ।

देशको आन्तरिक सुरक्षा व्यवस्थापनको ‘बागडोर’ सम्हाल्न पाउने भएकाले प्रहरी प्रमुखको पदका लागि ‘मरिहत्ते’ गर्ने चलन अहिलेमात्र होइन पहिलेदेखि नै छ ।

राजनीतिक नेतृत्वमा समेत प्रहरी प्रमुखको चयनलाई लिएर ‘हानथाप’ नै चल्ने गर्छ । तर, सरकारले सधैं वरीयताअनुसार नै आईजीपी बनाएको अवस्था छैन । हालका आईजीपी सिंह पनि पछिल्लो वरीयताबाट आईजीपी बनाइएका व्यक्ति हुन् ।

त्यसैले सरकारले उपयुक्त लागेको पात्रलाई आईजीपी नियुक्त गर्ने गरेको छ । जसको लागि कुँवरमात्र नभएर राई, थापा, ज्ञवाली र बज्राचार्य आ आफ्नो ठाउँबाट लबिङ गरिरहेका छन् । हेरौ यो खेलमा को सफल हुनेछन् ।

कसको सम्भावना कति ?
१. बसन्त कुँवर

पहिलो नम्बरमा डीआईजी भएका कुंवर एआईजी बढुवामा पनि पहिलो नम्बरमै छन् । एआईजी भएको केही दिनमै नयाँ आईजीपी नियुक्त गर्ने भएकाले सरकारले उनलाई नै आईजीपी बनाउने सम्भावना बढी छ ।

यही सरकारले निर्णय गर्ने भएकाले कुँवर नै आईजीपी नियुक्त हुने स्रोत बताउँछ । कांग्रेस, माओवादीसहितको गठबन्धन सरकारले नै एसएसपीमा १२ नम्बरमा रहेका कुँवरलाई डिआईजीमा अगाडि ल्याएको थियो ।

एआईजी बढुवामा सिफारिस हुनुअघि उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत थिए । त्यसअघि उनले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डिआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन् ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन् । प्रहरी उपरीक्षक (एसपी)मा नुवाकोटलगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेको अनुभव छ । उनी कमाण्ड कन्ट्रोलमा अब्बल मानिन्छन् ।

२. टेकप्रसाद राई

कुँवरपछि दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । कुँवरको विकल्पमा आईजीपी बनाउन खोजिए उनी पनि दाबेदार हुन् । एसएसपी हुँदादेखि नै दोस्रो नम्बरमा रहेका राई वरीयतामा अडिग छन् । डिआईजी र एआईजीमा पनि उनको यही वरीयता यथावत छ ।

एसएसपीमा उनीभन्दा अगाडि रहेका सन्दीप भण्डारी डिआईजी बढुवामा पछाडि पर्दा उनलाई भने तलमाथि गरिएन । राई लामो समय सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन् । ३० वर्षे प्रहरी सेवा अवधिको दुई तिहाइ अर्थात् २० वर्षभन्दा बढी राईले बिना बर्दी काम गरेको अनुभव छ ।

नेपाल प्रहरीको आतंकवाद तथा अन्तरदेशीय अपराधहरुको अनुसन्धान गर्ने विशिष्टकृत इकाई विशेष ब्यूरोमा राईले दुई दशकभन्दा बढी रहेर काम गरेको ज्ञान छ । आतंकवाद तथा प्रतिआतंकवादसम्बन्धी राम्रो ज्ञान भएका राईले एसपी हुँदा बाँके जिल्लाको इन्चार्ज भएर समेत काम गरेका छन् ।

एसपीबाट एसएसपीमा बढुवा भएपछि राईले जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरे । त्यसपछि प्रहरीको केन्द्रीय प्रवक्ता भएर समेत काम गरेका राई एआईजीमा बढुवा सिफारिस हुनुअघि लुम्बिनी प्रदेश प्रमुखको रुपमा कार्यरत थिए ।

३. दीपक थापा

तेस्रो नम्बरमा एआईजी बढुवा भएका थापासमेत आईजीपीको प्रबल दाबेदार हुन् । कार्यक्षमता र पहुँचका आधारमा पहिलो नम्बरमा देखिन्छन् थापा । बरियतामा तेस्रो भएपनि उनी आईजी दाबेदारमा एक नम्बरमै देखिन्छन् ।

संगठनका लागि इमान्दार अधिकृतको रुपमा चिनिएका थापा नेपाल प्रहरीभित्र राम्रै छवि बनाएका प्रहरी अधिकृत हुन् । नेपाल प्रहरीमा जहाँ जस्तोसुकै परिस्थितिमा पनि थापाले नै सहज रुपमा त्यसको समाधान गदै आएका छन् । त्यसैले उनलाई आईजी नियुक्त गर्न संगठनका अधिकांश सिनियर प्रहरी अधिकृतहरु समेत लागिपरेका छन् ।

संगठन निर्माणदेखि नेपाल प्रहरीभित्र नीति निर्माणमा समेत थापाको भूमिका प्रशंसायोग्य छ । सोहीकारण पनि उनी संगठन प्रमुख हुँदा धेरै फाइदा हुने बहालवाला एकजना एसएसपी बताउँछन् । निरन्तर संगठनलाई कसरी बलियो र निडर भई अगाडि बढाउनेतिर लाग्ने थापालाई वर्तमान सरकारको समेत साथ रहेको बुझिएको छ ।

एआईजी बढुवामा सिफारिस हुनुअघि थापा बागमती प्रदेश प्रमुखको रुपमा कार्यरत थिए । एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, डीआईजी भएपछि प्रबन्ध महाशाखामा रहेर थापाले काम गरेको अनुभव छ ।

अहिले आईजी नभएको अवस्थामा पनि थापाको आईजी हुने सम्भावना भने कायमै रहन्छ । थापासँगै एआईजीमा बढुवा भएका चारजना २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए । एकै पटकको आवेदन भए पनि थापासहितका केही प्रहरी अधिकारीलाई भने ६ महिनापछि नियुक्ति दिइएको थियो

जसकारण अहिले आईजी नभए पनि थापाको आईजी बन्ने सम्भावना कायमै रहन्छ ।

४. श्यामलाल ज्ञवाली

बरियतामा थापाभन्दा पछाडि ज्ञवाली एआईजी बढुवा भएका छन् । सरकारले चाहे उनलाई पनि आईजी बनाउनसक्छ । तर, अहिलेको अवस्थामा भने ज्ञवालीभन्दा अघि रहेका तीनजना नै मुख्य दाबेदार हुन् । तर, त्यसै भन्न सकिन्न ।

चौथो नम्बरमा बढुवा भएका ज्ञवाली बढुवा हुनुअघि कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका ज्ञवालीले एसएसपी हुँदा जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमा समेत काम गरेका थिए ।

त्यस्तै डिआईजी भएपछि कोशी प्रदेश प्रमुख हुनुभन्दा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालको प्रमुखको रुपमा ज्ञवालीले काम गरेको अनुभव ज्ञवालीसँग छ ।

एसपी हुँदा रुपन्देही जिल्लाको कमाण्ड गरेका ज्ञवाली आईजी भएको अवस्थामा नेपाल प्रहरीको इतिहासमा सहोदर दाजुभाइ नै आईजी भएको पहिलो घटना हुनेछ । यसअघि ज्ञवालीका सहोदर दाजु ठाकुर ज्ञवाली नेपाल प्रहरीको आईजी भइसकेका छन् । तर उनको जन्ममिति सम्बन्धी विवाद अख्तियारसम्म पुगेको हुनाले उनले संगठनकै नेतृत्व भने नपाउने निश्चित प्रायः छ ।

५. किरण बज्राचार्य

पाँचजनामा एआईजी बन्ने एक मात्रै महिला हुन् बज्रचार्य । पाँचौ नम्बरमा बढुवा सिफारिस भएकी बज्राचार्य नेपाल प्रहरीको इतिहासमा पहिलो पटक आईजीको प्रतिस्पर्धामा गर्ने महिला प्रहरी बनेकी छिन् ।

एआईजीमा बढुवा सिफारिस हुनुअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत बज्राचार्य भने एआईजी बढुवा भएकाले प्रहरीको इतिहासमा पहिलो पटक आईजीमा प्रतिस्पर्धा गर्ने महिला प्रहरी बनेकी हुन् । यदि उनी आईजी बनेको अवस्थामा नेपाल प्रहरीको इतिहासमा पहिलो महिला आईजी हुनेछिन् ।

एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरेकी बज्राचार्यले डिआईजी हुँदा बागमति प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर भक्तपुरलगाउत ठाउँमा बसेर काम गरेको अनुभव बज्राचार्यको छ ।

उनलाई आईजी बनाउन सबै दलका महिला नेतृहरुसमेत लागि परेको अवस्था छ । इमान्दार अधिकृतको छवि बनाएकी बज्राचार्यको कमाण्ड कन्ट्रोल समेत अब्बल छ । उनले पनि शक्तिकेन्द्रमार्फत सरकारलाई दबाब दिइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया