

राष्ट्रपतिका लागि नेम्वाङले मागे सीके राउतसँग भोट

काठमाडौं – राष्ट्रपतिका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई भेटेर आफूलाई मत दिन आग्रह गरेका छन् । आज (शुक्रबार) पार्टीका नेताहरुसहित बुद्धनगरस्थित जनमत पार्टीको कार्यालय पुगेर नेम्वाङले आफूलाई मत दिन आग्रह गरेका हुन् ।
भेटमा सहभागी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार राष्ट्रपतिमा नेम्वाङप्रति आफूहरुको सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले प्रतिक्रिया दिएका थिए ।
जनमत पार्टीलाई मूल धारमा ल्याउन समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै राउतले नेम्वाङको प्रशंसा गरेको गुरुङले जानकारी दिए । एमालेको आग्रहपछि जनमतका अध्यक्ष राउतले पार्टीको आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने जवाफ दिएका थिए । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत माग्नु भएको र आफूले पार्टी भित्र छलफल गरेर जवाफ दिने बताएको राउतले बताए ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । निर्वाचनका लागि एमालेका नेम्वाङ र ८ दलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मैदानमा छन् ।

