

मीरा राई इनिसिएटिभ्सले ‘स्तुपा टू स्तुपा रेस’ आयोजना गर्ने

काठमाडौं – अल्ट्रा ट्रायल धावक मीरा राईको संस्था मीरा राई इनिसिएटिभ्सले स्तुपा टू स्तुपा रेस गर्ने भएको छ। आगामी फागुन ६ गते हुने रेस काठमाडौंको स्वयम्भूनाथ स्तुपाबाट सुरु भएर बौद्धनाथ स्तुपामा सकिनेछ।
यो रेसको कोर्स (मार्ग) जमाचो चोकको अग्लो स्थानदेखि मुड्खु हुँदै शिवपुरीबाट बौद्धसम्म रहेको छ। प्रतियोगितामा अनलाइन प्रणालीमार्फत नाम दर्ता गराएका १६ देशका २५० धावकको सहभागिता रहने आयोजकको भनाइ छ।
दुई विधामा रेस सञ्चालन हुनेछ। ५४ किमीको स्तुपा टू स्तुपा (महिला तथा पुरुष) र २१ किमिको स्तुपा टू स्तुपा (महिला तथा पुरुष) रेसमा प्रतिस्पर्धा हुनेछ।
४ जना रेस कोर्स डिजाइनर, ५ जना रेस कोर्स मार्कर, १४ जना रेस टाइमिङ पर्सन तथा १४ जना सर्भिस पर्सनको प्रत्यक्ष निगरानी एवं रेफ्री तथा अफिसियलको रोहबरमा रेस प्रतियोगिता सञ्चालन हुनेछ।
५४ किमिको स्तुपा टू स्तुपा (महिला तथा पुरुष) रेसको विजेतालाई नगद ४० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। चौथो र पाँचौँ हुनेलाई ५ हजार र ३ हजार रुपैयाँ दिइनेछ।
२१ किमिको विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। यस्तै, चौथोलाई ५ हजार र पाँचौँ हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

