

एकीकृत समाजवादीः सुदूरपश्चिमबाट पहिलोपटक सत्तामा !

धनगढी – नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले सरकारमा सहभागी हुने बताए । पार्टीका तर्फबाट आज एकजना मन्त्रीले शपथ लिने उनले जानकारी दिए । यससँगै एकीकृत समाजवादी पहिलोपटक सरकारमा प्रवेश गर्ने भएको छ ।
‘हामी सरकारमा सहभागी हुन्छौं । आज हाम्रो पार्टीको तर्फबाट एकजना मन्त्रीले शपथ लिनुहुन्छ,’ उनले भने ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि नेपाली कांग्रेसका कमल शाह शुक्रबार मुख्यमन्त्री बनेका हुन् । उनले आज शपथ लिँदै छन् । सरकारमा सहभागी हुनेबारे आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच धुम्बाराहीमा भेट भएको थियो ।
यसैबीच, कांग्रेसबाट पनि एक मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

