रास्वपाको गृह दाबीको दुई दिने अल्टिमेटम आज सकिँदै, स्थायी कमिटी बैठकपछि प्रचण्डले निर्णय दिने


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको दुई दिने अल्टिमेटको आज अन्तिम दिन ।

सर्वोच्च अदालतले सांसद पनि नहुने गरि गरेको फैसलासँगै गृह मन्त्रालयबाट राजीनामा दिएका पार्टी अध्यक्ष रवि लामिछानेले पुनः गृह मन्त्रालयको माग गर्दै बिहीबार प्रधानमन्त्रीलाई २ दिने अल्टिमेटम दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए।

सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो।

यसपछि १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताए। यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गरे।

प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्डले अस्वीकार गर्दै सर्वोच्च अदालतको पूर्ण पाठ आउन्जेल धैर्य गर्न आग्रह गरेका थिए ।

सम्भवतः प्रधानमन्त्री दाहालबाट आज गृहमन्त्रालय रास्वपालाई दिने वा नदिने एउटा निर्णय गर्नेछन् । त्यसका लागि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक १ बजेका लागि बोलाइएको छ । स्थायी कमिटीको निर्णयपछि पार्टी अध्यक्ष समेत रहेका दाहालले आजै निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । दाहाललाई पार्टीभित्रबाट गृहमन्त्रालय रास्वपालाई नदिनका लागि दबाब परिरहेको छ ।

 

प्रतिक्रिया