नेपाल प्रहरीको सर्भर ह्याक, संवेदनशील डेटा लिक


काठमाडौं – नेपाल प्रहरीको सर्भर ह्याक गरी संवेदनशील डेटा लिक भएको पाइएको छ । गत सेप्टेम्बर २१, २०२२ मा २.३४ जीबी फाइल साइजकाे प्रहरीकाे डेटा डार्क वेबमा लिक भएको हो ।

‘नेपाल प्रहरीले आन्तरिक प्रयोजनका लागि ईमेलमा जे कुराकानी गरेको हुन्छ, त्यो सबै लिक भएको छ । विशेषगरी प्रशासनिक तहमा हुने सञ्चारको डकुमेन्ट बाहिरिएको देखिन्छ,’ एक साइबर सुरक्षा बिज्ञले बताए ।

यसमा विशेषगरी प्रहरीका गोप्य योजनाहरू छन् । ‘ब्रिच फोरम’ र ‘हाइड्रा मार्केट’ गरी दुई डार्क वेब प्लेटफर्ममा यी डेटा लिक भएका छन् । ‘ईमेल सर्भर ह्याक गरेर वा कार्यालयभित्र कसैको ईमेल एड्रेसमा एक्सेस पाएर डेटा लिक गरेको देखिन्छ,’ उनले भने ।

नेपालको इतिहासमा यति संवेदनशील डेटा पहिलो पटक लिक भएको उनले सुनाए । यस्तो डेटाका माध्यमबाट नेपाल प्रहरीको नेटवर्कभित्र प्रवेश गर्ने र उक्त निकायको अन्य अकाउन्टमा फिसिङ आक्रमण हुने सम्भावना रहेको उनले बताए ।​

डार्क वेबमा महत्त्वपूर्ण डेटा लिक भएकाे खबरबारे नेपाल प्रहरी भने बेखबर भएकाे पाइएकाे छ । ‘हामीले तपाईँहरूबाट सूचना पायौं । तत्कालै प्राविधिक टिमसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाउँछौं,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले भने ।

प्रतिक्रिया