

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

विराटनगर – निरन्तर चलिरहेको शीतलहरको जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१० लालिगुराँस चोकमा विहिवार विहान आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार विहिवार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा विहान साढे ७ बजे आचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो ।
छोरा धिरेन्द्र विहान दूध लिन गएका र आफन्तहरु घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो । उनलाई बचाउने प्रयास भएपनि ‘स्पट डेड’ भएको प्रहरीको भनाइ छ ।
सप्तरीको बोदेबर्साइन मूल घर भएकी बृद्धाको शवलाई पोष्टमार्टम पछि दाहसँस्कारका लागि आफन्तले उतै लगेको प्रहरीले जनाएको छ ।

