

मन्त्री र राज्यमन्त्री दुवैद्वारा एउटै ल्याब उद्घाटन !

काठमाडौं — वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालनमा ल्याइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आज सो ल्याबको उद्घाटन गरेका हुन् ।
वीरमा मासिक रूपमा करिब ५० जना क्याथ ल्याब आवश्यक भएका बिरामी आउने गरेको अस्पतालका कार्डियोलोजिस्ट डा। समीर पौडेलले बताए । ल्याब उद्घाटनका लागि पुगेका मन्त्री गिरी र राज्यमन्त्री कार्कीले अस्पतालको हेमोडाइलासिस वार्ड लगायतका वार्डहरू निरीक्षण पनि गरेका थिए ।
अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले नर्सिङ जनशक्ति, एमआरआई, सिटी स्क्यान मेसिनहरू थप्न गरेको अनुरोधमा राज्यमन्त्री कार्कीले दरबन्दीको थप गर्न मन्त्रालयको तर्फबाट तुरुन्तै प्रक्रिया अघि बढाइने बताइन् ।

