मधेस प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ


जनकपुरधाम – मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार उनीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विनाविभागीय मन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो।

मण्डल र ईशर मंगलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो। कुल १०७ सदस्यीय प्रदेशसभामा १०३ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए।

मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र सांसदहरुको समर्थन थियो।

प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरू निर्वाचित भएका छन्।

प्रदेशसभाका सभाध्यक्ष ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन्। सभामुखमा चयन हुन ५२ मत आवस्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो। उनको विपक्षमा २९ मत खसेको थियो।

यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत ईशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो। उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाएका थिए।

प्रतिक्रिया