

रास्वपाका ५ भाग्यमानी, को–को बन्दैछन् त मन्त्री ?
पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनिसकेका छन् भने उपसभामुखका लागि डा. चन्दा कार्कीको सम्भावना बलियो

काठमाडौं — उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ मन्त्रीसहित एक राज्यमन्त्री र उपसभामुख पाउने भएकाे छ ।
सत्ता साझेदारको हिजोको बैठकबाट रास्वपाले ती पदहरू पाउने टुंगो लागेको हो ।
उक्त पार्टीबाट एक मन्त्रीमा गृहमन्त्री लामिछाने भइसकेका छन् भने बाँकी रहेका दुई मन्त्रालय र एक राज्यमन्त्रीले आज सपथ गर्ने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार रास्वपाको भागमा शिक्षा र श्रम मन्त्रालय परेको छ । त्यसका लागि रास्वपाबाट क्रमशः शिशिर खनाल र डोलप्रसाद अर्यालको सम्भावना बढी रहेको छ ।
स्वास्थ्य मन्त्रालयको दाबी गरिरहेको रास्वपाले अन्तिम अवस्थामा आएर शिक्षा र श्रम मन्त्रालयमा सहमत भएको जनाइएको छ ।
साथै रास्वपाले पाएको एक राज्यमन्त्रीमा स्वास्थ्य लिने भएको पनि स्रोतले दाबी गरेको छ । त्यसका लागि डा. तोसिमा कार्की राज्यमन्त्री बन्ने जनाइएको छ ।
त्यस्तै रास्वपाले उपसभामुख पनि पाएको छ । त्यसका लागि पार्टी डा. चन्दा कार्कीलाई पठाउने आन्तरिक तयारी गरिरहेको जनाइएको छ ।

