

प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दावी पेस

विराटनगर – एमालेका हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् ।
संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्। कार्कीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थन छ ।
प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । उक्त समयावधिभित्र कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेका हुन् ।
प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको छ ।
प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

